रामनगर,असार २०— सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको आइतबार (आज) निधन भएको छ ।
लामो समयदेखि उच्च रक्त चाप,मुटु तथा मधुमेहका बिरामी रहेका बर्माको १० दिन अघि स्वास्थ्यमा समस्या देखिए पछि उपचारको लागि काठमाण्डौं लगिएको थियो । काठमाडौं भैसेपाटी स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा ७२ वर्षिय बर्माको आइतबार बिहान ११:३० मा निधन भएको नेपाली कांग्रेस सर्लाहीका उपसभापति सुरेन्द्र प्रसाद सिंहले जानकारी दिए ।
रामनगर गाउँपालिका वडा नंं १ खैर्वा निवासी बर्मा २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । साविक खैर्बा गाविसको तीनपटक अध्यक्ष भई हाल रामनगर गाउँपालिकाको अध्यक्ष भएका बर्माको निधनले नेपाली कांग्रेस सर्लाहीलाई ठुलो क्षति पुग्नुकासाथै एक असल एवम् प्रभाबशाली कुशल नेतृत्वकर्ता आफुहरुले गुमाएको उपसभापति सिंहले बताए । आफ्नो अभिभावक अध्यक्ष बर्माको निधनपछि सिङ्गो पालिकानै शोकमा डुबेको छ ।उनको पार्थिव शरीर गृह गाउँमा ल्याई धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिने मृतक भाइ राजकुमार श्रीवास्तवले बताए । गाउँपालिका अध्यक्ष बर्माका श्रीमती र एक छोरा रहेका छन् ।