विमलाका औँलाहरू मोबाइलको किप्याडमा बिस्तारै चल्दै थिए –
“ विमला ! आखिर मैले रोगलाई जित्न नसक्ने पक्का भयो । यी डाक्टरले त म मरे पनि तिमीलाई म नरहेको जानकारी दिने छैनन् किनकि हामीले कसैको अनुदान र सहयोगमा उपचार गराइरहेका छैनौँ । उनीहरू हाम्रो जीवन रहनुसँग भन्दा पनि पैसासँग सम्बन्ध राख्दछन् । यहाँ बाँचेर जाँदा पनि घरमा बाँच्न गाह्रो पर्छ र मरेर पनि बिना पैसा निकाल्न दिँदैनन् ।“
विमलाका आँखाबाट टप्लक्क आँसुको थोप्ला झर्यो ।
मोबाइलको किप्याडलाई क्रमशः अघि बढाइन् उनले –
“ विमला ! तिम्रो केही चल्दैन यहाँ । सबै डाक्टरकै चल्छ । यो निर्धक्क पैसा बुझाउने ठाउँ हो । तिमी हस्पिटलको एक कुनामा मेरो कुशलताको कामना गरिरहेकी हौली । म बन्धक झैँ यो मृत्युु शैयामा छु । सायद यसरी तिमीलाई मैले सम्झनु अब अन्तिम अन्तिम नै हुन सक्छ । पीडाको छट्पटी भित्रबाट अन्तिम पल्ट तिमीलाई सम्झने प्रयास हो यो ।“
लामो सुस्केरा हाल्दै विमला अघि बढिन् ।
“ मेरो शरीर मसँग अलग हुन चाहन्छ । मैले निर्धारित समयमा जानै पर्छ । यिनले म गएको एक दुई दिनसम्म पनि म ठिकै छु भन्न भुल्ने छैनन् किनकि मलाई पिर तिमीसँग छुट्टिनुको भन्दा पनि मरिसकेको मेरो मृत लाशसँग जुन पैसा असुली गरिने छ यसले पो ! छट्पटी बढाएको छ ।“
आमा, भाइ रोयो भन्दा विमला केही सम्हालिन खोजिन् ।
“विमला ! मेरो कसम ! मलाई सम्झेर तिमी कमजोर बन्ने छैनौ। तिमी त त्यो डेढ वर्षे कान्छो बालकको बुबा पनि हौ र आमा पनि । म त्यही छोराभित्र नै रहेको आभाष दिनेछु तर, तिमी रुने छैनौ नि ? वाचा गर। जसको पालो आउँछ त्यो त जानै पर्छ माहामारी त केवल बाहना मात्रै हो ।सबैले कुनै न कुनै रोगलाई त दोष दिने गर्छन् तर म दोष दिन्नँ । किनकि दोष त मेरो नियतिको हो । समय नै यति रहेछ । सबै हाम्रै दुष्कर्मको प्रतिफल हो । महामारी, धन्न ! “कोरोना “ बनेर आयो यदि “ज्वाला “ बनेर आएको भए यसरी कोही दुब्लाउने र कोही मोटाउने अवसर नै दिने थिएन । जे भो ठिकै भो विमला ! कठिनाइसँग तिमीले जुध्न जानेकी छ्यौ म के भनूँ ? मृत्युलाई अस्विकार गर्न सकिन्न । आखिर मैले आत्मसाथ गरेँ है त विमला बाई ! …… “
विमला झल्याँस्स भइन् । तेह्रौँ दिनको मृत्यु संस्कार सकेर विमला आफ्नै पतिको मोबाइल चलाउँदै थिइन् ।
लालबन्दी, सर्लाही
२०७८/०२/३१