प्रतिकात्मक तस्विर।

सर्लाही,जेठ ३१—सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५,पडरियामा चार दिनमा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन भारतीय नागरिक पनि रहेका छन् ।
नेपाल–भारत सीमाबाट पौने दुई किलोमिटर उत्तर पडरिया गाउँमा संचालित एक घरेलु मदिरा उत्पादन गर्ने भट्टी पसलमा मदिरा सेवन गरेकाको मृत्यु भएको हो । चिकित्सकले मृतक सवैले विषाक्त घरेलु मदिरा सेवन गरेका कारण मृतु भएको आसंका आशङ्का गरेका छन् ।
जिल्ला अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झा का अनुसार मदिरा सेवनबाटै मृत्यु भएको आशङ्का गरिए पनि मृत्युको कारण अझै पत्ता लागेको छैन । मृत्यु बारे बुझन मृतकहरुको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब, काठमाण्डौंमा पठाउने तयारी गरिएको डा. झाले बताए ।
मृत्यु हुनेमा ब्रह्मपुरी गाउँपालिकाका वडा नं. ५ का ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी,५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास,२४ वर्षीय बलिन्द्र दास, भारत उत्तर प्रदेशका ५५ वर्षीय शिवसागर निसाद, ३५ वर्षीय दाताराम निसाद, र ३२ वर्षीय सर्वेस राम निसाद रहेका छन् । मृतक भारतीय नागरिकहरु स्थानीय चन्दन इँटा उद्योग पडरियामा कागर्ने मजदुर हुन् ।
ब्रह्मपुरी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक उपेन्द्र राउतका अनुसार तीनै जना भारतीय नागरिकको २८ गते, स्थानीय राम ईश्वर पासवान र दिनकर दासको २९ गते, कैलु दासको ३० गते र जुगेश्वर माझी र बलिन्द्र दासको सोमवार आज बिहान मृत्यु भएको हो ।
तीन स्थानीयको गाउँमै र भारतीय नागरिकको उपचारका क्रममा जिल्ला अस्पताल मलंगवा मृत्यु भएको र दुई जना बिरामीको जिल्ला अस्पताल मलंगवा र एक जनाको श्रीराम अस्पताल मलङ्गवामा उपचार चलिरहेको स्वास्थ्य शाखाका संयोजक उपेन्द्र राउतले बताए । मदिरा पसलका संचालक देवराज कापर स्वयं पनि बिरामी परेका छन् ।
ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले मृत्यु भएका आठै जना र बिरामी परेका तीन जनाले विषाक्त मदिरा सेवन गरेको पाइएको बताए । आठ जनाको मृत्यु भएपछि सोमवार बिहान स्वास्थ्य निर्देशनालय जनकपुरबाट डा. कमलेश यादव, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएजओ) बाट डा. किरण बाँस्तोला, जिल्ला अस्पताल मलङ्गवाबाट डा. अविनाश कुमार सिंहसहित जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाको स्वास्थ्य शाखाको टोलीले गाउँको निरीक्षण गरी १३ जनाको एन्टिजेन विधीबाट कोरोना परीक्षण गरेको छ । उनिहरु सवैको रिपोर्ट भने नेगेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक राउतले बताए ।