मलंगवा,जेठ २३— जिल्ला अस्पताल मलंगवाको पीसीआर ल्याब दुई दिनदेखि चल्न सकेको छैन् । पीसीआर ल्याब चलाउन चाहिने मास्टर मिस्क रिएजेन्ट सकिएकाले ल्याब बन्द गर्नुपरेको
हो । जसले गर्दा अस्पतालमा पुगेर स्वाब दिएका र विभिन्न ठाउँबाट संकलन गरेर लगिएको थ्रोट स्वाबको रिपोर्ट आउन सकेको छैन् ।
बिहिवार परवानीपुर र सासापुरबाट गएको स्वाबमा पनि आजसम्म रिपोर्ट आउन सकेको छैन् । जसका कारण कोरोनाको आशंका गरेर स्वाब दिएका बिरामीहरु समस्यामा परेका छन् । शुक्रवारसम्म अस्पतालको पीसीआर ल्याब संचालन भएको थियो ।
हिजो र आज ल्याब बन्द रहेको एक जना ल्याब टेक्नोलोजिष्टले जानकारी दिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाका अनुसार जनकपुरबाट रिएजेन्ट आइरहेको र रिएजेन्ट आउनासाथ ल्याब संचालनमा आउने छ ।