मलंगवा,जेठ २३— सर्लाहीमा कोरोना सङ्क्रमित भएका व्यक्तिहरु निको हुने दर बढेको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा दोस्रो चरणको सङ्क्रमणबाट गए साँझसम्म एक हजार ७२० जना सङ्क्रमित भएका छन् ।
तीमध्ये ६८० जना सङ्क्रमणमुक्त भएका सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए । उनका अनुसार गएको २४ घण्टामा ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । ६८ जना सङ्क्रमितको मृत्यु भएको छ । गएको २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । जिल्लामा भन्दा जिल्लाबाहिर मृत्यु हुनेहरुको सङ्ख्या धेरै रहेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
जिल्ला अस्पताल मलङ्गवाका प्रमुख एवं निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.नवलकिशोर झाले अहिले पनि सङ्क्रमणको जोखिम कायमै रहेको र कोरोनासँग लक्षण मिल्ने ज्वरो, निमोनिया, टाइफाइड, रुघाखोकीका बिरामी देखा परिरहेकाले सावधानी अपनाइराख्न जरुरी रहेको बताए । कोरोना सङ्क्रमितलाई राख्न सदरमुकाम मलङ्गवास्थित सन्त अल्पमाई नर्सिङ कलेजमा १६० शैय्याको आइसोलेसन संचालनमा रहेको छ भने लालबन्दी, हरिवन, ईश्वरपुर, बरहथवालगायतका स्थानमा पनि आइसोलेसन संचालनमा रहेका छ ।
नयाँ भेरियन्टसहित दोस्रो चरणमा कोरोना सङ्क्रमण फैलिएयता सर्लाहीमा दुई हजार ७०२ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ४९५ जना र ४३८ जनाको एन्टिजेन परीक्षण गर्दा ११५ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । जिल्ला अस्पताल मलङ्गवामा पीसीआर परीक्षण हुने गरेको छ भने विभिन्न पालिकाहरुले स्थानीय स्तरमै एन्टिजेन परीक्षण गर्दै आइरहेका छन् । सर्लाहीमा पलिहो चरणमा छ हजार ८२ जना र दोस्रो चरणमा पाँच हजार २० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।