लालबन्दी, जेठ २०—सर्लाहीमा कोरोना भाइरस सङ्क्रमण बाट हुने मृत्युदर घट्दै जान थालेको छ । जिल्ला प्रशासन कार्यालय, मलंगवाका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट सर्लाहीमा कसैको पनि मृत्यु भएको छैन् । जेठ पहिलो र दोस्रो साता कोरोना सङ्क्रमण उच्च विन्दुमा पुगेका बेला जिल्लामा दैनिक चार/पाँच जनाको संक्रमणबाट मृत्यु हुने गरेको थियो । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भूमिश्वर पोखरेलका अनुसार जिल्लामा कोरोना सङ्क्रमणबाट हुने मृत्युदरमा कमी आउन थालेको हो । पोखरेलले हिजोआज मानिसहरु सङ्क्रमित हुने दरमा पनि केही कमी आएको बताए । केही दिन अघिसम्म पीसीआर र एन्टिजेन परीक्षण गरिएका आधा भन्दा धेरै व्यक्तिमा कोरोना पोजिटिभ देखिन्थ्यो ।’पछिल्लो समया नेगेटिभ रिपोर्ट आउने अर्थात कोरोना सङ्क्रमण नरहेका व्यक्तिहरुको संख्या बढ्दै गएको छ,’उनले भने । अहिले मानिसको आवागमनमा केही कमी आउनुकासाथै स्वास्थ्य सावधानी अपानाउने गर्नाले पनि संक्रमण र मृत्युदर घटेको चिकित्सकहरुकाे भनाइ छ। तत्कालै निषेधाज्ञा उल्लघंन गरेर नहिँड्न र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न चिकित्सकहरुले आग्रह गरेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीकी इन्चार्ज डा. प्रगति रानाले कोरोनासँग मिल्ने लक्षण भएका बिरामी अहिले पनि प्रशस्तै भेटिने गरेकाले सजग रहन आग्रह गरिन् । दोस्रो चरणमा फैलिएको कोरोना सङ्क्रमणबाट सर्लाहीमा हालसम्म १५ सय ७९ जना सङ्क्रमित भएका छन् । तीमध्ये ५ सय ५० जना निको भइसकेका र ६४ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सर्लाहीमा जेठ २५ गतेसम्मका लागि निषेधाज्ञा जारी छ । जिल्लामा अहिले पनि दिनहुँ कोरोना परीक्षण भइरहेको छ । पीसीआर परीक्षणका लागि बिहिवार (आज) मात्रै हरिवनस्थित अस्थायी कोभिड अस्पताल सासापुरबाट ५७ जना र लालबन्दी नगरपालिकाको परवानीपुरबाट ५३ जनाको थ्रोट स्वाब संकलन गरेर जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।