लालबन्दी,जेठ १८—सर्लाहीको लालबन्दी नगरपालिकाले नगरस्तरीय कक्षा ८ को परिक्षा स्थगित गरेको छ । कोभिड–१९ महामारिका कारण स्थगित गरिएको वार्षिक परिक्षा स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गरी दुर तथा खुल्ला पद्घतिद्वारा लिन निर्देश गर्दै नगरपालिकाको शिक्षा शाखाले १३ गते सूचना जारी गरेको थियो ।
सूचनामा जेठ २० गतेदेखि २७ गतेसम्म परिक्षा सम्पन्न गरी जेठ मसान्त भित्र परिक्षाको नतिजा नगरको शिक्षा शाखालाई बुझाउन भनिएको थियो । सोमवार पुनः सूचना जारी गर्दै लालबन्दी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मातृका आचार्यले अर्को सूचना जारी नहुन्जेल सम्म परिक्षा स्थगित गर्न विद्यालयहरुलाई निर्देशन दिएका छन् । विध्यार्थीले प्रश्नपत्र घरमै लगेर परिक्षा दिदाँ त्यसको प्रभावकारी नतिजा नआउने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका थिए ।