जिल्ला प्रशासन कार्यालय सर्लाही ।

मलंगवा,जेठ १८—सर्लाहीमा जारी निषेधाज्ञा आगामी जेठ २५ गतेसम्मका लागि लम्ब्याइएको छ । सोमवार दिउँसो सदरमुकाम मलङ्गवामा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ बमोजिम जेठ २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि स्थानीय प्रशासनले गए राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो । जिल्लामा पटक–पटक गरी अहिलेसम्म चौंथो पटक निषेधाज्ञा थप गरिएको हो ।
नयाँ भेरियन्टसहित कोरोना भाइसको दोस्रो सङ्क्रमण फैलिएपछि, त्यसको रोकथाम तथा नियन्त्रणका लागि भारतसंग सीमा जोडिएको सर्लाहीमा गएको बैशाख २५ गतेबाट निषेधाज्ञा लागू गर्न सुरु भएको थियो । कोभिड–१९ सङक्रमणको चेन ब्रेक गर्न र रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको बैठकका अर्का सहभागी सदरमुकाम मलङ्गवा नगरपालिकाका मेयर निरसल साहले बताए । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङका अनुसार जिल्लामा अहिले पनि सङ्क्रमितहरु बढिरहेका र बढ्दो सङ्क्रमण दरलाई नियन्त्रण गर्न निषेधाज्ञालाई निरन्तरता दिईएको हो ।

यसरी पटक–पटक थप्दै लगिएपनि जिल्लामा निषेधाज्ञाको पूर्णरुपमा पालना भने हुन सकेको छैन् । शहर क्षेत्रमा मानिसको चहलपहल कम भएपनि ग्रामीण भेगमा खेतीपाती, सिजन रहेकाले भौतिक दुरिमा खासै ध्यान दिईको पाईदैन । गाउँम अहिले देशका विभिन्न ठाउँमा रहेका आफन्तहरु घर फर्किएकाले मानिसको उपस्थिति झनै बढेको छ ।