मलंगवा, जेठ १८—जिल्लामा कोरोना सङ्क्रमितलाई राखेर औषधोपचार गर्न ३६० बेड क्षमताको आइसोलेसन तयार पारिएको छ । जिल्ला सदरमुकाम मलङ्गवासहित लालबन्दी, हरिवन, बरहथवालगायतका स्थानमा सो क्षमताको आइसोलेसन तयार पारिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनुभयो । सदरमुकाम मलङ्गवास्थित सन्त अल्पमाई नर्सिङ्ग कलेजमा मात्रै १६० शैय्याको आइसोलेसन तयार पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले चियोचर्चो खबरलाई जानकारी दिए ।
त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी र सासापुर स्वास्थ्य चौकी हरिवनमा समेत आइसोलेसन तयार पारेर सङ्क्रमितहरुलाई राखिएको छ । तर जिल्लामा अहिले अधिकांश कोरोना सङ्क्रमितहरु आ–आफ्नो घर अर्थात् होम आइसोलेसनमा नै बसिरहेका छन् । जिल्ला अस्पतालसहित जिल्लाका विभिन्न स्थानीय तहका अस्पतालमा १४७ थान अक्सिजन सिलिण्डर रहेको थियो पछिल्लो पटक दाताहरुले अक्सिजन सिलिण्डर दिनथालेपछि यो संख्या वृद्धि भएको छ अझैपनि जनशक्ति अभावका कारण जिल्ला अस्पताल मलङ्गवामा रहेको १० बेडको एच.डी.यू. र चारवटा भेन्टिलेटर संचालनमा ल्याउन सकिएको छैन् । प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार सर्लाहीमा गए साँझसम्म एक हजार पाँच सय दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ । तीमध्ये तीन सय ४० जना सङ्क्रमित निको भइसकेका र ५९ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख श्रवणकुमार नायकले जानकारी दिए ।