लालबन्दी नगरपालिकाव्दारा जारी सूचना ।

लालबन्दी, जेठ १२ —पछिल्लो समय कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको भन्दै लालबन्दी नगरपालिकाले थोक तरकारी बजार बुधवार (आज) बाट बन्द गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै आजबाट लागू हुनेगरी तरकारी बजार बन्दको निर्णय भएको जनाएको छ । लालबन्दी नगरपालिकाकी उपप्रमुख शान्ति लामाको अध्यक्षता तथा उद्योग वाणिज्य संघ, लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी, कृषि उपज व्यवस्थापन समितिका अध्यक्ष राम दरेश चौधरीसहित अन्य सरोकारवालाको उपस्थितीमा बसेको बैठकले डुमडुमे मन्दीर अगाडी लाग्दै आएको थोक तरकारी बजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले अर्कोे सूचना जारी नभएसम्मका लागि लालबन्दी–१७, रानिगंजस्थित खेल मैदानमा स्वास्थ्य मापदण्डको पालना गराई तरकारी बजार संचालन गर्ने निर्णय गरिएको छ । त्यस्तै, कृषि विकास बैँक र डुमडुमे मन्दीर अगाडी लाग्दै आएको खुद्रा तरकारी बजारलाई साझा संस्था अगाडीको खुल्ला स्थानमा भौतिक दुरी र स्वास्थ्य मापदण्डको पालना गराई बिहान ७ बजेदेखी १० बजेसम्म मात्र संचालन गर्न दिने निर्णय गरेको नगरपालिकाले जारी गरेको सूचना उल्लेख गरिएको छ ।