सर्लाही,चैत–६,जिल्लाको लालबन्दीमा रहेको जनज्योति बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्वको संयुक्त प्यानल विजयी भएको छ ।


कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूकाे संयुक्त प्यानल बनाएर चुनावी मैदानमा रहेको नेविसंघ नेतृत्वको टिम विजयी भएको हाे ।


नेकपा एमाले निकट अनेरास्ववियुले भने यहाँ एकल उम्मेदवारी दिएको थियो ।


स्ववियु सभापतिमा संयुक्त प्यानलबाट नेविसंघका अभिमनु चौधरी १९२ मतान्तरले विजयी भएका हुन् । सभापतिमा विजयी चौधरीले ४४१ मत ल्याउँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका गान्दिप बरालले २४९ मत प्राप्त गरे । यस्तै, सचिवमा संयुक्त प्यानलबाटै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अनिता कुमारी बुढाथोकी ३५७ मत ल्याइ बिजयी हुँदा उनकी प्रतिस्पर्धी अनेरास्ववियुकी रेणु पोखरेलले ३१५ मत प्राप्त गरिन् ।
त्यस्तै, कोषाध्यक्षमा संयुक्त प्यानलकै नेकपा एस निकट अनेरास्ववियूका एलोज खड्का ३१४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमाले निकट अनेरास्ववियुका विमलेश चौधरीले २१६ र जसपा नेपाल निकट समाजवादी विद्यार्थी युनियनका ज्ञानेश्वर मण्डल खत्वेले १०५ मत प्राप्त गरेका छन् ।
यसैगरी, सदस्यहरुमा संयुक्त प्यानलका विवेक कुमार दास (४४१), अंशु पोखरेल (४३९), निर्मल अधिकारी (४२६), अनिस खड्का (४२५), प्रज्वल माझी (४२५) र रोहित कुमार कार्की (४११) मतसहित विजयी भएका छन् ।
समानुपातिकतर्फ नेविसंघले ४०३, अनेरास्ववियुले २३८ र अखिल क्रान्तिकारीले ४६ मत प्राप्त गरेका छन् । समानुपातिकमा १६ मत बदर भएको छ । समानुपातिकबाट प्राप्त मतकै आधारमा थप ६ जना सदस्य चयन गरी त्यसैमध्येबाट उप–भासपति र सह–सचिव चयन गरिने छ ।
आइतवार भएको स्ववियु निर्वाचनमा यस क्याम्पसमा स्नातक तह र स्नाकोत्तर तहमा भर्ना भएकामध्ये ९९६ विद्यार्थीमध्ये ७०३ जनाले मतदान गरेका थिए । राति मतगणना गरी सोमवार बिहानपख सम्पन्न गरिएको हो ।