सर्लाही, चैत-९ ,भारतीय सीमावर्ती क्षेत्र बलरा नगरपालिकामा  जङ्गली जनावरलाई थापिएको विद्युतिय पासाेमा परी एक जनाको मृत्यु भएको छ । 


मृत्यु हुनेमा बलरा नगरपालिका–५, कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरी रहेका छन् ।
राति पिसाब फेर्न निस्किएका रामअक्षय छिमेकीको मकै बारी थापिएको विद्युतीय पासाेमा परेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंवाले जनाएको छ । 


सर्लाहीका प्रहरी उपरीक्षक (एसपी)नरेशराज सुवेदीका अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। मृतक रामअक्षयको शव प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टमपछि परिवारले बुझेर लगेका प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।
पछिल्लो समय जङ्गली जनावरले बालीनाली सखाप पर्न थालेपछि सर्लाहीका किसानले विद्युतीय पासाे थाप्न थालेपछि करेन्ट लागेर मृत्यु हुने घटना बढ्न थालेको छ ।
वनजङ्गल मासिएपछि जङ्गली जनावर आहारकाे खाेजिमा बस्ती नजिककाे खेतबारी पसेर बालीनाली नष्ट गर्ने क्रम बढ्दाे छ ।