सर्लाही,माघ -९, समाजसेवी एवम् संचारकर्मी मधु कार्कीले १५५ जना विपन्न विद्यार्थीहरुलाई १२ कक्षा सम्म निःशुल्क पढाइ दिने प्रतिवद्धता प्रतिबद्धता व्यक्त गरेकी छिन् ।


जर्मन बस्दै आएकी महिला नेतृ कार्कीले लालबन्दी नगरपालिका ५ रंजितपुरस्थित महेन्द्र आदर्श आधरभुत विद्यालयमा अध्ययनरत माझी, मुसहर तथा विपन्न समुदायका १५५ जना विद्यार्थीलाई कक्षा १२ सम्म लाग्ने सबै प्रकारका शुल्क आफूले तिरीदिने र उनीहरुलाई वार्षिक रुपमा एकसरो विद्यालय पोशाक र एकएक थान झोला समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
समाज रुपमान्तरणको पहिलो खुड्किलो नै शिक्षा भएकोले आफूले विपन्न बालबालिकाको शिक्षामा लगानी गर्ने सोच बनाएको उनले बताइन् ।
सो विद्यालयका सबै बालबालिका जुनसुकै विद्यालयमा पढे पनि उनीहरुले विद्यालयमा तिर्नुपर्ने सबै प्रकारका शुल्क, उनीहरुका लागि बार्षिक एकएक थान स्कुल ड्रेस, झोला तथा कापी कलम उपलब्ध गराउने उनको प्रतिवद्धता छ ।
सर्लाहीको लालबन्दी नगरपालिका १६ कि स्थानीय वासिन्दा कार्की जर्मन बस्ने गर्छिन् । नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउने अभियानमा लागेकी कार्की गएको मंसीर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा काठमाण्डौ क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवार थिइन् ।
नेतृ कार्कीले सोमवार वडा अध्यक्ष मिन प्रसाद ढुंगेल(रामु), सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उमेदवार बैकुण्ठ सापकोटा, समाजसेवी हरि धमला, विद्यालयका प्रधानाध्यापक आश नारायण चौधरी, जनज्योती माविका शिक्षक सुवास ढुंगाना, गायक सन्तोष दाहाल, बालवालिका र तिनका अभिभावकको उपस्थितिमा विद्यालयमै अन्तरक्रिया कार्यक्र गर्दै उक्त घोषणा गरेको वडा अध्यक्ष मिन प्रसाद ढुंगेलले बताए ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महिला नेतृ कार्कीले बालवालिकालाई पढ्ने वातावरण सिर्जना गरिदिन तिनका अभिभावकलाई पनि आग्रह गरिन् ।
उनले बालबालिकाका अगाडि धुम्रपान, मद्यपान नगर्न र उनीहरुलाई गाली नगर्न तथा नियमित विद्यालय पढाउन आग्रह गरिन् ।
उनले आफू पनि महिला नै भएकोले महिलाको पीडा आफूले बुझेको भन्दै महिलाहरुलाई आयआर्जन गर्ने वातावरण पनि आफूले बनाउने बताइन्।
उनले महिलाहरुलाई सिप सिकाई झोला तथा अर्गानिक अचार उत्पादन गर्न लगाउने र उनिहरुले उत्पादन गरेको सामाग्री आफूले खरीद गरी युरोपियन बजारहरुमा लगेर विक्री गर्ने बताइन् ।
यसो गर्दा महिलाहरु आर्थिक रुपमा सक्षम हुने र पुरुषमा निर्भर हुनु नपर्ने उनको तर्क थियो । महिला सक्षम भए बालबालिकाले पनि नियमित विद्यालय जान पाउने वातावरण बन्ने उनको विश्वास छ ।
उनले आगामी नयाँ शैक्षिक सत्रदेखि लागू हुने गरी बालबालिकाको पढाईमा लाग्ने खर्च व्यहोर्ने बताइन् । उनले वडाअध्यक्ष मार्फत विद्यार्थीहरुको विवरण तयार गरी आफूलाई उपलब्ध गराउन अनुरोध गर्दै, बैशाखमा आफै आएर बालबालिकाको खर्च तथा उनीहरुको लागि आवश्यक पोशाक तथा शैक्षिक सामाग्री प्रदान गर्ने बताइन् ।
आफू जहाँ रहेपनि विद्यार्थीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण समाग्री आफूले उपलब्ध गराउने उनले बताइन्।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक आश नारायण चौधरीले स्वगत मन्तव्य राखेका थिए, भने वडाअध्यक्ष मिन प्रसाद ढुंगेल, स्वतन्त्र उमेदवार बैकुण्ठ सापकोटा, समाजसेवी हरि धमला, शिक्षक सुवास ढुंगाना लगायतले विद्यालयको अवस्थाका बारेमा समाजसेवी कार्कीलाई अवगत गराएका थिए ।