सर्लाही, बैशाख -१२,सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा एमालेका तर्फबाट नेता गाेविन्द महतले मेयर पदमा उम्मेदवारी दर्ता गरेका छन् ।


उम्मेदवारको विषयलाई लिएर भएको विवाद मिले पछि महतले उम्मेदवारी दर्ता गरेका हुन ।
एमाले भित्र मेयरमा २ जनाले टिकट लिएर आएपछि उम्मेदवारी दर्ता गर्न समस्या भएको थियो । निवर्तमान मेयर मानबहादुर खड्कालाई मधेस प्रदेश कमिटी तथा नेता गोविन्द महतलाई केन्द्रीय कमिटीले मेयरमा छुट्टाछुट्टै टिकट दिएको थियो ।


प्रदेश कमिटीबाट टिकट पाएका निवर्तमान मेयर खड्काले सोमबार बिहान ११ बजेर ४० मिनेटमै निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका थिए । पछि एमाले नेताहरु बसेर नेता गोविन्द महतले प्राप्त गरेको टिकटलाई आधिकारिक मानेर अघि बढ्ने निर्णय गरेको एमाले श्राेतले जनाएको छ।
उम्मेदवारी दिइसकेका मानबहादुर खड्का र नेता महत अन्य नेता कार्यकर्ता दिउँसो २ बजेपछि लालबन्दी नगरपालिकाको पुरानो भवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा निर्वाचन अधिकृतको कार्यालयले एमालेबाट मेयरमा पहिले नै उम्मेदवारी दर्ता भइसकेको भन्दै तत्कालै महतको नाममा अर्को उम्मेदवारी दर्ता गर्न नमिल्ने बताएको थियो ।
पछि एमाले नेताहरुले प्रदेश र केन्द्रीय कमिटीबाट आफ्नो पार्टीको उम्मेदवार गोविन्द महत नै रहेको पत्र लेखाएपछि साँझ ४ः४५ बजे बल्ल महतको नाममा उम्मेदवारी दर्ता भएको थियो ।
यस्तै, सोमबावर नै लालबन्दीमा नेपाली काँग्रेसबाट मेयरमा बासुदेव अधिकारी र उपमेयरमा कल्पना पाख्रिन, नेकपमा माओवादी केन्द्रबाट मेयरमा प्रल्हाद बुढाथोकी र उपमेयरमा सुमित्रा श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट मेयरमा रमा पौडेल र उपमेयरमा गोविन्द अधिकारी र जसपा,लाेसपा राप्रपा लगायत अन्य साना तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता दर्ता गराएका छन् ।