बरहथवा मंसिर -२७ ,प्रदेश- २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले उत्पीडित वर्गको उत्थानका लागि प्रदेश सरकार लागिपरेकाे बताएका छन् । मुख्यमन्त्री राउतले प्रदेशमा बसोवास गर्ने महिला, दलित, मुुस्लिम, मधेसी, आदिवासी जनजातिलगायत समुदायको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गरिएको बताएका छन् ।


सोमबार सर्लाहीको बरहथवा नगरपालिका– १७, श्रीपुरमा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन ।
उनलेे प्रदेश सरकार सङ्घीयताको पहरेदार बनिरहेको बताउदै सङ्घीयता समाप्त पार्ने मनसाय बोकेकाहरुले सङ्घीयताको पहरेदार बनेकाे प्रदेश सरकारविरुद्ध अनेक षड्यन्त्र गरिरहेकाे आरोप लगाए ।
प्रदेश सरकारको अधिकार कुण्ठित हुन नदिन सङ्घीय सरकारसँग आफुहरूले निरन्तर सङ्घर्ष गरिरहेको मुख्यमन्त्री राउतकाे तर्क थियो ।
उनले आफैले अघिसारेकाे छोरी शिक्षा बीमा कार्यक्रम कोरोनाका कारण अवरुद्ध भएकाले त्यसलाई पुनः सूचारु गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बरहथवा नगरपालिकाको ४० लाख र वडाको ६ लाख बजेट गरी ४६ लाख रुपियाँ लागतमा बरहथवा नगरपालिका–१७, श्रीपुर नयाँटोल कटानी बजारमा एक तले वडा कार्यालय भवन निर्माण गरिएको छ । नवनिर्मित वडा कार्यालय भवनको मुख्यमन्त्री राउतले उद्घाटन गरेका हुन ।
यसअघि त्यहाँ वडा कार्यालयको छुट्टै भवन नहुँदा स्वास्थ्य चौकीको पुरानो भवनबाट कार्यालय सञ्चालन हुँदैआएको थियो ।
बरहथवा नगरपालिका १७ का वडाध्यक्ष रामविश्वास रायको अध्यक्षतामा आयोजित वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा प्रदेश सभा सभा सदस्यद्वय अशोक यादव र सञ्जयकुमार यादव, बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतो लगायतको आतिथ्यता रहेको थियो ।