जनकपुरधाम,भदौ—२०, प्रदेश २ मा नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा सामेल हुने प्रदेशसभा सदस्यको संख्या १२ पुगेको छ । यसअघि गत बिहीबार प्रदेश २ का १० एमाले प्रदेशसभा सदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका थिए ।

आइतवार (आज) एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले नेकपा एकीकृत समाजवादीमा सहभागि हुनको लागि सनाखत गराएसंगै समर्थन गर्नेको संख्या १२ पुगेको हो । उनीहरु निर्वाचन आयोगको जनकपुरस्थित प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराए । आज सनाखत गर्नेहरुले गत शुक्रबार नेकपा एमालेले वीरगंजमा आयोजना गरेको प्रदेश कमिटी बैठकमा समेत सहभागी जनाएका थिएन्न। उपचारका क्रममा दिल्लीमा रहेका डिल्ली उप्रेतीको पनि आइतबार साँझसम्म सनाखत भइसक्ने बताइएको छ । श्रोतका अनुसार दिल्लीस्थित नेपाली दूतावासको रोहवरमा प्रदेशसभा सदस्य उप्रेतीको सनाखत गरेर निर्वाचन आयोगलाई पत्र पठाउने तयारी भइरहेकोे छ ।