घटनास्थलमा खटिएका सुरक्षाकर्मी र आक्रोशित स्थानीय । (तस्बिर : चियोचर्चो खबर )

लालबनदी,साउन २९— सर्लाहीको नवलपुरमा टिफरको ठक्करबाट एकजना साईकल यात्रीको मृत्यु भएको छ । घटना पछि आक्रोसित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर बजार क्षेत्रमा साँढे ३ घण्टादेखि आवरोध गरेका छन् ।
टिफरको ठक्करबाट लालबन्दी नगरपालिका–२ निवासी ४० वर्षीय रामनरेश महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृतक महतोलाई नवलपुर बजार स्थित सर्लाही लाईफलाईन अस्पतालन नजिक पूर्व–पश्चिम राजमार्गमा साईकलको पछाडी बोकेको घाँसमा टिफरले ठक्कर दिएको थियो । ठक्करबाट अनियन्त्रित भई महतो राजमार्गमा लडेको र टिफरको पछाडीको चक्काले किचेको ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार शुक्रबार दिउँसो साँढे २ बजे पूर्वबाट पश्चिमतर्फ गईरहेको ना. ७ ख ८२९३ नम्बरको टिफरले सोही दिशाबाट साईकलमा घाँस बोकेर आईरहेका महतोलाई ठक्कर दिएको थियो ।


महतोको मृत्यु पछि आक्रोशित स्थानीयले टिफरलाई नियन्त्रणमा लिएर तोडफोड एवं आगजनीको प्रयास गरेपछि स्थिती तनावग्रसत भएको हो । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ । भिड अनियन्त्रित भएपछि ४ सेल अश्रुग्याँसनै प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
प्रहरीले अश्रुग्याँस प्रहार गरेर पछि पछि हटेका स्थानीय अहिले भने नवलपुर बजार क्षेत्रमा जम्मा भएर राजमार्गमा प्रदर्शन गरिरहेको छ । आक्रोशित स्थानीयले टिफर नियन्त्रणमा लिएर तोडफोड एवं आगजनी समेत गर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । राजमार्ग अवरोधमा स्थानीय महिलाहरुको भिड भएकाले बल प्रयोग गरेर अवरोध हटाउन समस्या भईरहेको प्रहरीले जनाएको छ ।
लालबन्दीका मेयर मानबहादुर खड्का स्थानीय बुद्धिजीवीलगायतको उपस्थितीमा पीडित पक्ष र सहित स्थानीयसँग छलफल गरेर अवरोध हटाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक गिरीले जानकारी दिए । प्रहरीका अनुसार चालकलाई नियन्त्रणमा लिईएको र थप अनुसन्धान भईरहेको छ ।

स्थानीयको अवरोध पछि प्रहरीले पूर्वबाट पश्चिम गईरहेका सवारी धान बागवानी र पश्चिमबाट पूर्व आईरहेका सवारी साधनलाई हरिवनमा रोकेर राखेका छन् । मोटरसाईकललगाएतका साना सावारी साधन भने भित्री बाटोभएर गन्तव्य तर्फ लागेका छन् ।