बैठकमा सहभागी बागमती नगरपालिकाका जनप्रतिनिधि र नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटी सर्लाहीका पदाधिकारीहरु ।

बागमती, साउन ८ — नेकपा (माओवादी केन्द्र) का तर्फबाट निर्वाचित बागमती नगरपालिकाका जनप्रतिनिधिले सर्लाही जिल्लाबाट जनयुद्धका क्रममा पहिलो शहीद भएका इन्द्र कोइराला परिवारको घर निर्माणका लागि एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।
बागमती नगरपालिका का जनप्रतिनिधि र नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटी सदस्यहरुकोे शुक्रवार (आज) बसेको सयुक्त बैठकले जनप्रतिनिधिहरुको साउन महिनाको पारिश्रमिक शहीद कोइराला परिवारको आवाष निर्माण र क्यासर पीडित नेतृ माया बल उपचार कोषमा दिने सर्वसम्मत निर्णय गरेको वाईसीएल प्रदेश कमिटी संयोजक एवम् आवास निमार्ण समिती संयोजक शन्देस श्रेष्ठले चियोचर्चो खबरलाई जानकारी दिए । बागमती नगरपालिका का जनप्रतिनिधिले उपलब्ध गराउने साउन महिनाको पारिश्रमिक बापतको रकम ६ लाख २० हजार ७ सय ३० रुपैया हुने र अन्य शुभेच्छुकबाट पनि रकम प्राप्तहुने क्रम जारिरहेको माओवादी केन्द्रले जनाएको छ ।
कोइराला जनयुद्धका क्रममा २०५५ साल कार्तिक १० गते शहीद भएका थिए । क्यासर पीडित नेतृ माया बल तत्कालिन माओवादीले जनयुद्ध सुरु गरेको एक वर्ष पछि २०५३ साल देखि राजनीतिमा सकृय नेतृ हुन ।
नेकपा (माओवादी केन्द्र ) सर्लाहीले यस अघिनै शहीद कोइराला परिवारको ४ कोठे पक्की घर निर्माणका लागि शिलान्यास गरिसकेको छ, त्यस्तै नेतृ बललाई औषधि खानको लागि मासिक ५० हजार दिने निणर्य गरिसकेको छ ।
शहीद कोइराला परिवारको भवन निर्माणको अनुमानीत लागत मूल्य २१ लाख रहेको संयोजक श्रेष्ठले बताए । नपुग रकम पार्टीका जिल्ला कमिटी सदस्य,केन्द्रिय सदस्य, चुनाव जितेका अन्य जनप्रतिनिधिहरुबाट स्वैच्छिक चन्दा संकलन गरेर भवनको निर्माण सम्पन्न गरिने संयोजक श्रेष्ठको भनाई छ । भवन निर्माणका लागि बागमती नगरपालिकाले वडा नं.—१२ बथानेमा जग्गा उपलब्ध गराएको संयोजक श्रेष्ठले जानकारी दिए । भवनको निर्माण सम्पन्न भए पछि कोइरालाले सहादत प्राप्त गरेकै दिन कार्तिक १० गते उनकी श्रीमती लक्ष्मी कोइरालालाई भवन हस्तान्तरण गरिने माओवादी केन्द्र सर्लाहीले जनाएको छ ।