दिप प्रज्वलन गर्दै

प्रकाश मैनाली
लालबन्दी, फागुन ०७ – नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रजातन्त्र दिवसका अवसरमा सर्लाहीको लालबन्दीमा शुक्रबार साँझ दिप प्रज्वलन गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा लालबन्दीस्थित पश्चिम बसपार्कमा दिप प्रज्वलन गरिएको हो । कार्यक्रममा कांग्रेस नेताहरु दीपक अधिकारी, कुवेर आचार्य, सुरेन्द्र न्यौपाने, तरुल दलका नगर सभापति सुदेश ढुंगाना, विद्यार्थी नेता युवराज देवकोटा नगर सचिव कृष्ण कार्की लगायतको सहभागिता रहेको थियो ।
२००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ सालको वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो ।
यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।
दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिएको छ ।